FNJ Logo

नेपाल पत्रकार महासंघ, धादिङ

Federation Of Nepal Journalists, Dhading

धादिङको पत्रकारिताको इतिहास

Author

केशव अधिकारी

पत्रकार

धादिङ जिल्लालाई कर्मथलो बनाएर पत्रकारिता गर्नेको संख्या अहिले एक सय जना पुग्न लागेको छ । केही बर्ष अघि धादिङ जिल्लामा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त सदस्य १९५ पुगिसकेको थियो अहिले त्यो संख्या घट्दै एक सयमा पुगेको छ । धादिङ जिल्लामा जन्मिएर राजधानी काठमाण्डौं र देशका अन्य जिल्ला एवम विदेशमा समेत पुगेर पत्रकारिता गर्नेको संख्या भने दुई सयको हाराहारी भईसकेको छ । धादिङेहरूमा पत्रकारिताको रुचि कस्तो थियो भनेर खोज्दै जाँदा वि.सं. २००८ सालमा धादिङ पिंडा गाउँका वासिन्दा केशवराज पिँडालीले काठमाण्डौंमा बसेर गाईजात्रा नामक हास्य व्यङ्ग्य पत्रिकाको सम्पादन गर्नु भएको इतिहास भेटिएको छ ।

धादिङ मुलघर भएका केशवराज पिँडाली (२०३० सालमा) गोरखापत्र दैनिकको कार्यकारी सम्पादक बन्नु भएको थियो । पिँडालीले गोरखापत्रमा आठ बर्ष काम गर्नुभयो । तत्कालीन पिडा पञ्चायतका कृष्णराज लामिछानेका छोरा केशवराज पिँडालीको जन्म भने वि.सं. १९७१ माघ १६ गते काठमाण्डौंको क्षेत्रपाटीमा भएको हो । धादिङको पिँडामा पिँडालीका बाउबाजेले जीवनयापन गरेको र काठमाण्डौंमा बस्न थालेपछि पनि धादिङको पुख्र्यौली थलोका बसाइलाई निरन्तरता दिएकाले केशवराज लामिछानेले थरको ठाउँमा आफ्नो बाउबाजेको थातथलोको सम्झनाका लागि पिँडाली लेख्न थालेको पाइन्छ । पिँडालीका पुर्खाले पनि लेखक र प्रकाशकका रूपमा नाम चलाएका थिए । पिँडालीको पत्रकारिताको इतिहास २००८ सालदेखि नै सुरु भएको थियो । त्यसबेला उहाँले गाईजात्रा नामक हास्य व्यङ्ग्य पत्रिकाको सम्पादन समेत गर्नुभएको थियो । पिँडाली गोरखापत्र प्रकाशनद्वारा प्रकाशित हुने मधुपर्क मासिकको सम्पादक पनि हुनु भएको थियो । उहाँ नयाँ कदम र विकास नामक पत्रिकाको प्रकाशक पनि बन्नु भयो । राजधानीमा जन्मिएपनि पिँडाली नै जिल्लाको पहिलो पत्रकार र पहिलो सम्पादकका रूपमा पनि चिनिनु भएको छ । पिँडालीले जिल्लाबासीको हैसियतले पत्रकारिता र हास्य व्यङ्ग्यको क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय छ । पुख्र्यौली थलोलाई माया गर्दै उहाँले आफुलाई चिनाएका कारण धादिङ जिल्लाले पिँडालीलाई कहिल्यै भुल्न सक्दैन ।

यस पछि भारतको बनारस पुगेका तत्कालीन पश्चिम १ नम्बर धादिङ इलाकाका बिद्यार्थीको संगठन पश्चिम १ नम्बर छात्र सङ्घले वि.सं. २०१५ सालमा प्रकाशन शुरु गरेको ‘नयाँ पाईलो’ विविध सङ्ग्रह नै धादिङेहरूद्वारा प्रकाशित पत्रिका भएको विभिन्न अध्ययनले देखाएको छ । उक्त पत्रिकाका सम्पादकसमेत रहनु भएका पूर्व जलश्रोत राज्यमन्त्री एवं राप्रपाका नेता ठाकुरप्रसाद शर्माको भनाइमा उक्त पत्रिकाको पहिलो सम्पादक भने धादिङ बेनिघाटमा जन्मनु भएका प्राध्यापक घनश्याम कँडेल हुनुहुन्थ्यो ।

सम्पादक कँडेलको जन्म धादिङ जिल्लाको रिचोकटार हालको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा वि.सं. २००२ जेठ २३ गते भएको थियो । अङ्ग्रेजी र नेपालीमा एम.ए. गर्नुभएका कँडेलले बी.एल. पनि गर्नुभएको छ । लामो समय त्रिभुवन विश्वबिद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा रहेर प्राध्यापन गराउनुभएका उहाँ अहिले सेवा निवृत्त भइसक्नुभएको छ । कँडेलले सुरु गरेको नयाँ पाईलो पत्रिकाको सम्पादनको जिम्मेवारी धादिङको जोगीमारामा जन्मिएर अहिले चितवनबाट नेपाली काँग्रेसको राजनीतिमा सक्रिय संविधान सभा सदस्य (२०७०) शेषनाथ अधिकारी, पूर्वमन्त्री ठाकुरप्रसाद शर्मा, रिचोकटारका राजकृष्ण उपाध्याय, हेमराज कँडेल र नुवाकोट जिल्लाका शारदारमण नेपाल समेतले पाएको इतिहास भेटिन्छ ।

पढाइका लागि बनारस पुगेकाहरु विभिन्न कारणले स्वदेश फर्कन थालेपछि २०२६ सालपछि नयाँ पाईलो पत्रिका प्रकाशन हुन छाडेको पूर्व सम्पादक शर्माले बताउनुभयो । प्रवासमा सुरु गरेको पत्रिका प्रकाशनको काम धादिङमा फर्किएर निरन्तरता दिन नसकिएको शर्मा बताउनुहुन्छ । प्रवासमा सीमित पत्रपत्रिका प्रकाशनको काम धादिङमा भने धेरै बर्ष पछि मात्र शुरुवात भएको पाइन्छ । धादिङ जिल्लामै दर्ता भएर पत्रपत्रिका निस्कने काम ढिलै सुरु भएपनि २०२० देखि २०३५ सम्मको कालखण्डमा धादिङ जिल्लाको गतिविधि राष्ट्रिय सञ्चारमाध्यममा लैजाने काम काठमाण्डौंमा पढ्न बसेका युवा बिद्यार्थीबाट हुने गरेको पाइन्छ । यस अवधिमा जिल्लाको पत्रकारितामा खासै उल्लेखनीय कुनै कार्य भएको नदेखिएपनि राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकामा जिल्लाका गतिविधिले थोरै मात्रामा भएपनि स्थान पाउने गरेको नेपाल पत्रकार महासंघ धादिङका संस्थापक उत्तमराज कँडेल बताउनुहुन्छ । 
धादिङको पत्रकारिताको विकासक्रम खोज्दै जाँदा २०३५ सालदेखि २०४६ सालसम्मको अवधि महत्वपूर्ण देखिन्छ । यस अवधिमा धादिङेहरू राजधानीबाट प्रकाशित हुने विभिन्न पत्रिकाको समाचारदातादेखि सम्पादक समेत बन्न सफल भए ।

जिवेन्द्र सिम्खडा, देवप्रकाश त्रिपाठी, कमल रिजाल, प्रल्हाद रिजाल, रामहरि दाहाल, नवराज लम्साल, किशोर श्रेष्ठ, राजेन्द्रप्रताप शाह, ऋषि धमला, केशव दुवाडी, जयप्रकाश त्रिपाठी, नरेश खतिवडा, ध्रुव सिम्खडा, ओम प्रसाद ढुंगाना, शिव अधिकारी, बिष्णु नेपाल, कृष्ण गौतम, सानुबाबु सिलवाल, शुभेच्छा विन्दु, उत्तम सिलवाल, सचित खकुरेल, हेमन्तराज दाहाल लगायत यही कालखण्डमा राजधानी छिरेर पत्रकारितामा स्थापित भएको पाईन्छ । धादिङ सुनौलाबजारमा जन्मनु भएका रामहरि दाहालले २०५१ साल देखि रेडियो नेपालमा संस्कृत भाषाको समाचारवाचकका रूपमा काम गर्नु भएको थियो ।

प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष तथा नेपाल पत्रकार महासंघको महासचिवको जिम्मेवारी सम्हालिसक्नु भएका किशोर श्रेष्ठको जन्म ललितपुरमा भएपनि उहाँको बसाई र बिद्यालयको पढाई धादिङको रिचोकटारबाट पुरा भएको हो । किशोर श्रेष्ठ जस्तै जिल्ला बाहिर जन्मेर पनि धादिङको माटोलाई माया गर्ने अर्का पात्र हुनहुन्छ नरनाथ लुईटेल । झापामा जन्मनु भएका लुईटेल लामो समय धादिङमा बस्नु भयो । लुईटेलले राजनैतिक, साहित्यिक तथा मानवअधिकार पत्रकारिताको माध्यमबाट धादिङ जिल्लालाई चिनाउने काम गर्दै आईरहनु भएको छ । धादिङ जिल्लाको पत्रकारिताले भुल्न नसक्ने अर्का पात्र हुन्, हरिहरसिंह राठोर । पश्चिम नेपालको जाजरकोट जिल्ला घर भएका राठोरले धादिङ जिल्लामा रहेर ७ बर्ष सम्म जिल्लाको पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । कान्तिपुर दैनिकको समाचारदाताका रूपमा २०७१ भदौ १६ गते धादिङ प्रवेश गर्नुभएका राठोर २०७८ भदौ १७ गते धादिङबाट सरुवा भई सुर्खेत जानु भएको हो ।

राठोर धादिङ जिल्लामा रहँदा उहाँले जिल्लाको गाउँबस्ती, कुनाकन्दराका ओझेलमा परेका बिषयहरू समाचारका रूपमा ल्याउनु मात्रै भएन धादिङ जिल्लालाई देश विदेशमा चिनाउने गरी खोजी पत्रकारितामा सक्रिय रहनु भएको थियो । नाकावन्दी, २०७२ को महाभुकम्प र कोराना कालको लकडाउनको समय धादिङ जिल्लामै बिताउनु भएका राठोर धादिङको पत्रकारिता जगतले भुल्नै नसक्ने व्यक्तिमा पर्नुहुन्छ । राठोर भन्दा केही बर्ष अघि गोरखा जिल्ला घर भएका सुदिप कैनीले पनि धादिङ जिल्लामा रहेर कान्तिपुर दैनिकको समाचारदाताको रूपमा काम गर्नु भएको थियो । जिल्लाबाहिरबाट धादिङ आएर पत्रकारिता गर्ने व्यक्तिहरूको नाम लिदा जनयुद्धकालका पत्रकारहरू पोखराका राज शर्मा र नुवाकोटका सूर्य किरण शर्मालाई पनि भुल्नु हुँदैन ।

मलेखु रिचोकटारका देवप्रकाश त्रिपाठी २०४६ असोजदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । त्यतिबेला केशबराज पिँडाली प्रधान सम्पादक रहेको साप्ताहिक विमर्शको अन्तर्वार्ता स्तम्भ र रिपोर्टिङबाट त्रिपाठी पत्रकारितामा प्रवेश गर्नु भएको थियो । विमर्श छोडेर २०४९ मा जनमञ्च म्यागेजिनको कार्यकारी सम्पादक, २०५१ मा रेडियो नेपालको घटना र विचारको सञ्चालक, २०५४ मा रेडियो नेपालको बोर्ड अफ डाइरेक्टर र समाचारमूलक सबै कार्यक्रमको प्रमुख, २०५५ मा र.ास.स.को महाप्रबन्धक तथा प्रधान सम्पादक, २०५८ मा स्पेसटाइम दैनिकको प्रधान सम्पादक, निजी क्षेत्रको पहिलो टेलिभिजन च्यानल नेपालको निर्देशक र कार्यक्रम प्रस्तोता, २०५२ देखि निरन्तर घटना र विचार साप्ताहिकको प्रधान सम्पादक, अहिले अनलाइन न्युज पोर्टल घटना र विचार डट कम को पनि प्रधान सम्पादकको जिम्मेवारीमा त्रिपाठी हुनुहुन्छ ।

यस अवधिमै धादिङ मैदीका देवेन्द्रप्रताप शाह, समसामयिक विविध सङ्ग्रह गरिमा मासिक र कृषि बिकास बैंकबाट प्रकाशित हुने साहित्यिक पत्रिका समष्टिको समेत सम्पादक हुनु भएको थियो । धादिङमा जन्मिएर राजधानीमा बसी विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखन मार्फत पत्रकारितामा योगदान पु¥याउने थुप्रै पात्रहरू हुनुहुन्छ । ती मध्ये मैदेली कृष्ण घिमिरेलाई हामीले भुल्नु हुँदैन । घिमिरेको निधन भइसकेको छ । यस्तै अर्का व्यक्ति हुनुुहुन्छ बद्रीप्रसाद दाहाल । शिक्षण पेशाबाट निवृत्त हुनुभएका दाहाल साहित्यिक फाँटमा मात्रै होइन स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा नियमित समसामयिक स्तम्भ लेखन गर्दै आइरहनु भएको छ । लेखनमा दाहालको सक्रियता कदरयोग्य रहेको छ । 
नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सचिव राजेन्द्रप्रताप शाहले २०३८ देखि २०४१ को अवधिमा काठमाण्डौमा रहेर जन्मभूमि र योजना साप्ताहिकमा काम गर्नुभएको थियो भने प्रजातन्त्र स्थापना पश्चात घटना र बिचार साप्ताहिकमा सम्पादक मण्डलको सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

२०५४÷५५ सालमा रेडियो नेपालबाट ‘गाउँघर’ नामक समाचारमूलक कार्यक्रम समेत उत्पादन तथा प्रशारण गर्ने कार्यमा शाह संलग्न हुनु भएको थियो । राजधानीमा रहेर पत्रकारिता गर्दागर्दै शाह जिल्ला फर्कनु भएपछि हिमालय टाइम्स, स्पेसटाईम, गोरखापत्र र कान्तिपुर दैनिकको जिल्ला समाचारदाता, गणेश हिमाल साप्ताहिकको कार्यकारी सम्पादक, मङ्गलप्रभात किरण साप्ताहिकको प्रधान सम्पादक समेत बन्नुभयो । विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखन समेत गर्दै आईरहनु भएका शाहले धादिङ जिल्लाबाट पिजनखबर डट कम सञ्चालन गर्दा गर्दै २०७८ चैत ३ गते उहाँको निधन भएको थियो ।

धादिङको पत्रकारितालाई बलियो बनाउन राजधानीबाट जिल्ला फर्कने पत्रकारमा सानुबाबु तिमिल्सिना पनि पर्नुहुन्छ । २०६३ सालमा तिमिल्सिना गोरखापत्रको जिल्ला समाचारदाता भएर धादिङ आउनु भएको थियो । जिल्ला आउनु अघि उहाँ २०५७ साल देखि एक्काईसौं शताब्दी साप्ताहिकमा समाचारदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो । २०५८ असोज देखि २०६३ सम्म सूर्योदय साप्ताहिकमा समाचारदाताका रूपमा काम गर्दा गर्दै गोरखापत्रको समाचारदाताको जिम्मेवारी लिएर धादिङ फर्कनु भएका तिमिल्सिनाले २०६५ सालसम्म गोरखापत्रमा काम गर्नु भयो भने २०६५ देखि २०७१ सम्म  कान्तिपुर र २०७१ देखि २०७५ सम्म नयाँ पत्रिकको जिल्ला समाचारदाताका रूपमा काम गर्नु भएको थियो । 

पत्रकारिता बिषयमा स्नातक तहको अध्ययन पुरा गरी जिल्ला फर्कनु भएका तिमिल्सिनाले जिल्लामा बसेर पत्रकारिता गर्दै पत्रकारितामा स्नातकोत्तर तहको पढाइ पनि पुरा गर्नु भएको छ । जिल्ला फर्किए पछि २०६४ देखि २०७० सम्म रेडियो धादिङको समाचार संयोजक र २०६४ देखि २०७२ सम्म नेत्रावती साप्ताहिकको सम्पादक, २०७२ देखि धादिङ आवाज दैनिकको सम्पादकको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । धादिङको पत्रकारिता क्षेत्रमा तिमिल्सिनाको योगदान पनि उल्लेखनीय रहेको छ ।

यसै गरी जिल्लाका पुराना पत्रकारको चर्चा गर्दा वेनिघाटरोराङ गाउँपालिका हुग्दिखोला घर भएका लक्ष्मी पौडेलले पनि धादिङ जिल्लामा रहेर पत्रकारितामा ठूलो योगदान पु¥याउनु भएको छ । पौडेलले २०४६ देखि २०६३ सम्म धादिङ जिल्लामा रहेर रेडियो नेपालको धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी जिल्लाको बिशेष समाचारदाताको रूपमा काम गर्नु भएको थियो । मुल पेशा शिक्षण भएपनि पौडेलले राष्ट्रपुकार साप्ताहिकको समाचारदाताको रूपमा २०३७ सालदेखि २०५९ सालसम्म काम गर्नु भएको थियो । यो बाहेक उहाँले हिमालय टाईम्स, स्पेस टाईम्स, राजधानी दैनिकका साथै घटना र बिचार साप्ताहिकमा पनि केही समय समाचारदाताको रूपमा काम गर्नु भएको थियो ।

धादिङ जिल्लाका पुराना पत्रकारहरूको खोजी गर्दा वेनिघाट रोराङ गाउँपालिका शितलवजारका कृष्णदिप सिग्देललाई भुल्नुहुँदैन । सिग्देल २०५३ सालमा पूर्ण फिल्मी म्यागेजिन ‘स्क्रिन स्टार’ नामक मासिक पत्रिकाको सम्पादक हुनु भएको थियो । त्यतिबेला उक्त पत्रिकामा अहिले राजधानी दैनिकको अनलाइन संस्करण राजधानी डेलीडटकमको सम्पादकको रूपमा कार्यरत ध्रुव लम्सालले पनि काम गर्नु भएको थियो ।

धादिङ जिल्लाबाट बाहिरी जिल्लामा गई पत्रकारिता गर्नेहरूको बारेमा खोजी गर्दा टिआर पौडेलको नामबाट २०५८ देखि २०६१ सम्म डोटी जिल्लामा रहेर अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको समाचारदाताको रूपमा काम गर्नुहुने धादिङ केवलपुरका केशव पौडेललाई पनि सम्झनुपर्छ । निजामती सेवामा प्रवेश गर्नुअघिनै पत्रकारितामा जोडिनु भएका पौडेलले निजामती सेवाका लागि डोटी जिल्लामा पुग्दा त्यहीँबाट केही समय अन्नपूर्ण पोष्ट दैनिकको समाचारदाताको रूपमा काम गर्नु भएको पाइन्छ ।

राजधानीबाट पत्रकारिता शुरु गरी जिल्ला फर्कने पत्रकारमा धादिङ ढोलाका केशव दुवाडी पनि पर्नुहुन्छ । विभिन्न साप्ताहिक पत्रिका हुँदै लोकपत्र दैनिकमा काम गरेर पत्रकारिताको फरक फरक अनुभव बटुल्दै २०५७ सालमा धादिङ फर्कनु भएका दुवाडीले जिल्लाबाट नेपाल समाचारपत्र दैनिकको समाचारदाता र धादिङबाट प्रकाशित धादिङ आवाज साप्ताहिकको सम्पादक भएर २०६० देखि २०६३ सम्म काम गर्नुभएको थियो । धादिङ छाडेर काठमाण्डौं फर्केपछि साधना हेल्थ मासिकको प्रमुख समाचारदाता भएर केही समय काम गर्नुभएका दुवाडी गैरसरकारी संस्थामा प्रवेश गरेसँगै सक्रिय पत्रकारितामा नदेखिएपनि धादिङ जिल्लाको पत्रकारिताको जगलाई बलियो बनाउने पात्रहरू भित्र पर्नुहुन्छ ।

पत्रकारिता सँगै साहित्यिक क्षेत्रमा पनि स्थापित नवराज लम्साल पनि यही अवधिदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । २०४३ सालमा समय दैनिकबाट पत्रकारिता शुरु गर्नुभएका लम्सालले २०५१ सालमा रेडियो नेपालमा आबद्ध हुनुभएको थियो । अहिले उहाँ रेडियो नेपालका सेवाबाट निवृत्त भैसक्नुभएको छ । यसैगरी बिबिसि नेपाली सेवामा पनि लम्सालको आवद्धता रहेको छ । सन् २००८ देखि हालसम्म पनि बिबिसिको सम्वाददाताका रूपमा उहाँ कार्यरत हुनुहुन्छ । यी बाहेक विभिन्न राष्ट्रिय दैनिकका स्तम्भ लेखन र साहित्यिक कृतिहरू लम्सालको चिनारी बनेको छ ।  
धादिङबाट २०४० देखि २०६५ सालको अवधिमा राजधानी प्रवेश गरी पत्रकारितामा सक्रिय हुनेको संख्या भने निकै ठूलो रहेको छ ।

यस अवधिमा राजधानी प्रवेश गरेर स्थापित भएका धादिङमा जन्मिएका पत्रकारहरूमा गोपाल तिवारी, प्रेम तिवारी, शिव अधिकारी, शालिग्राम तिवारी, ध्रुव लम्साल, नबराज ढकाल, ध्र्रुव सिम्खडा, ध्रुव तुलाधर, बिष्णु नेपाल, गोविन्द रेग्मी, सुवाष पण्डित, दिपक रिजाल, प्रतिक लामिछाने, सरोज अधिकारी, होमनाथ लम्साल, प्रकाशचन्द्र दाहाल, लेखनाथ पाण्डे, तिलक पाठक, रामहरि त्रिपाठी, सुवास खतिवडा, सोहम सुवेदी, नारायण तिवारी, मिलन तिमिल्सिना, कन्चन अधिकारी, दिपेश तिमिल्सिना, रमेश सुवेदी, गोविन्द रेग्मी, मानछिरिङ तामाङ, शिव श्रेष्ठ, विकास थपलिया, रमेश लम्साल, नवराज पाण्डे, सूर्यप्रसाद पाण्डे, शरद अधिकारी, बालकृष्ण अधिकारी, बिज्ञान अधिकारी, दिपेश खतिवडा, हेमन्तराज दाहाल, कुमार खतिवडा लगायत रहेका छन् । धादिङमा जन्मिएर काठमाडौंमा रही पत्रकारिता सक्रिय रहँदा रहँदै कोरोना संक्रमणबाट ज्यान गुमाएका मोहन लोहनीलाई पनि धादिङको पत्रकारिताले भुल्नुहुँदैन । त्यसैगरी धादिङ जिल्लामा जन्मिएर राजधानीमा रहेर पत्रकारिता गर्नेहरूमा नारायणलाल श्रेष्ठ, निर्मला भट्ट, दिपक अधिकारी, प्रेम तिवारी, उषा भट्ट, विवेक भट्ट, केदार अधिकारी, कमल तामाङको नाम बिर्सनु हुँदैन । कतिपयले पेशा परिवर्तन गरेपनि राजधानीका विभिन्न सञ्चार माध्यममा रहेर काम गर्ने धादिङमा जन्मिएका पत्रकारको संख्या निकै नै रहेको छ । 

पछिल्ला दिनमा धादिङबाट राजधानीमा गएर विभिन्न सञ्चार माध्यममा स्थापित हुने पत्रकार तथा सञ्चारकर्मीको संख्या पनि निकै रहेको छ । विनय खकुराल, काजी श्रेष्ठ, पुष्प ढुंगाना, मदन ढुंगाना, रमेश धमला, अनिल अधिकारी, उत्तम काप्री, राजु बाँस्कोटा, सुदर्शन खतिवडा, रामेश्वर कार्की, हरिशरण न्यौपाने, मधुकर लुईटेल, टेकमान शाक्य, जानुका दुवाडी, आरती लम्साल, भावना लम्साल, सुनिता दुवाडी, शर्मिला तिमिल्सिना, रिता लम्साल, रिया भण्डारी, शिखा श्रेष्ठ, केशव नेपाली, श्रीहजुर सिलवाल, राजकुमार ढुंगाना, प्रमोद भट्ट, भुवन पौडेल, माधव खड्का, सुदिप विक, लक्ष्मण तामाङ, वर्च लामा, सन्तोषराज सापकोटा विष्ण्ुा विक, निर्मल भोगी लगायत एक सय भन्दा धेरै पत्रकार राजधानीमा क्रियाशिल छन् ।

राजधानी भन्दा बाहिर छिमेकी जिल्ला चितवनमा पनि धादिङमा जन्मिएका पत्रकारहरू सक्रिय रहेका छन् । ती मध्ये जनक अर्याल, एकल सिलवाल, विनोदबाबु रिजाल, बालकृष्ण थपलिया, प्रतिमा सिलवाल, केशव समर्पण लगायत अग्रपंक्तिमा रहेका छन् । 

चितवन पछि पोखरामा धादिङमा जन्मिएका पत्रकारहरू उपस्थिति बाक्लो रहेको छ । पत्रकार महासंघका केन्द्रीय सदस्य समेत भइसकेका रुद्रप्रसाद भट्ट, जसले लामो समय पोखरालाई आधारक्षेत्र बनाएर पत्रकारिता गर्नुभएको थियो । पोखरामा १२ वर्षदेखि पोखरेली पत्रकारितामा चिनिएको अर्को नाम हो रञ्जन अधिकारी । जसले पोखरामा पत्रकारिता गरिरहेका धादिङका पत्रकार समेटेर सङ्गठित रूपमा अघि बढेका छन् । अधिकारी पोखराबाट सञ्चालित बिग एफएमका स्टेशन म्यानेजर, प्रदेशकै अग्रणी वेबसाइट गण्डकन्यूज डटकमका फाउण्डर पनि हुन् । झण्डै डेढ दशकदेखि पोखरामा पत्रकारिता गरिरहेका अर्का पात्र हुन हरि पन्त । यस्तै, पत्रकारितामै लागिरहेका केदार धमला, रमेश तिमिल्सिना, पुनम थापा मगर, दुर्गा राना मगर, सरोज अर्याल, दीपा पौडेल सहित लामो समयसम्म मीना राना, गंगालाल गुरुङ, टीका मगरले पनि पोखरामा रहेर पत्रकारिता गरका छन् । अहिले काठमाण्डौंमा स्थापित राजन सिलवाल (श्रीहजुर) र रेडियो राजमार्गमा कार्यरत सफलता आचार्यले पनि कुनै बेला पोखरामा रहेर पत्रकारिता गरेका थिए । जिल्ला र नजिकका जिल्लामा मात्रै होइन बिविसि नेपाली सेवामा समेत धादिङका पत्रकार पुगेका छन् । धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मनु भएका शालिकराम अर्याल बिबिसीको बेलायत स्थित मुख्यालयबाट नेपाली भाषाको समाचार बाचन गर्नुहुन्छ भने नवराज लम्साल नेपालबाट समाचारदाताका रूपमा कार्यरत हुनुहुन्छ । थांक्रेका सुवाष कार्की पनि केही समय बिबिसी नेपाली सेवामा जोडिनु भएको थियो ।

धादिङमा जन्मिएर राजधानी र विभिन्न जिल्लामा पुगी पत्रकारिता गर्नेको संख्या २ सयको हाराहारीमा पुगिसकेको छ भने जिल्लामै सक्रिय रहनेको संख्या पनि १ सयको हाराहारीमा पुगेको छ । नेपाल पत्रकार महासंघ धादिङको २०८० मंसिर माघ मसान्त सम्मको अभिलेख अनुसार जिल्लामा एक सय भन्दा धेरै महासंघको सदस्यता पाएका छन् । महासंघको सदस्यता प्राप्त सबैजना पत्रकार नहुन पनि सक्छन् किनभने हरेक पत्रकार सञ्चारकर्मी हुन् तर हरेक सञ्चारकर्मी पत्रकार हुन सक्दैनन् । जो व्यक्ति विभिन्न माध्यमको प्रयोग गरी समाचारमूलक सामग्री तयार गर्न सक्छन् ती मात्र पत्रकार हुन् ।

सीताराम वर्मा, राजेन्द्रप्रताप शाह, उत्तम कँडेल, डा. नवीनबन्धु पहाडी, तुलसी अधिकारी, रमेश अधिकारी, केशव दुवाडी, विश्वराज अधिकारी, केशव अधिकारी, सीताराम अधिकारी, शिव सिलवाल, पोषनाथ अधिकारी, सीता अधिकारी, नवराज छत्कुली, दिपक कोइराला, सुवास खतिवडा, बुद्धिमान वाइबा, उद्धव चेपाङ, सुदर्शन खतिवडा, रमेश आचार्य लगायतले जिल्लाको पत्रकारिताको तेजलाई बढाउन भूमिका निर्वाह गरेका छन् । धादिङका पत्रकारिताको विकासका लागि विभिन्न कालखण्डमा योगदान दिने व्यक्तिहरूमा गोकर्ण अधिकारी (राजधानी दैनिक समाचारदाता), सीता ढुंगाना, सुरेश सुवेदी, गायत्री खतिवडा, मधुकर लुईटेल (रेडियो धादिङ), विश्वराज अधिकारी, रोहित भण्डारी (सम्पादक प्रत्युष दैनिक) लगायतलाई पनि भुल्नु हुँदैन ।

मुलुकमा गणतन्त्रको स्थापना र नयाँ संविधानको जारीसँगै विभिन्न मिडिया हाउसको स्थापना भएपछि पत्रकारहरूको पुर्णकालीन सक्रियताले धादिङको पत्रकारितालाई अहिलेसम्मको स्थानमा ल्याइपुरयाएको छ ।

धादिङ जिल्लाबाट पत्रकारिताको सुरुवात 
आर्थिक बर्ष २०४१÷४२ मा जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भई प्रकाशित भएको श्रुति साप्ताहिक जिल्लाको पहिलो पत्रिकाको रूपमा रहेको भेटिन्छ । यसको सम्पादक माधव खनाल हुनुहुन्थ्यो । खनालले धादिङमा पत्रिकाको सुरुवात मात्रै गर्नुभएन छापाखाना समेत स्थापना गरी सञ्चालनमा ल्याएको पाइन्छ । खनालले आफ्नो बसाइ नुवाकोट सारेपछि पत्रिका र छापाखाना दुवै उतै स्थानान्तरण गरिएको थियो । धादिङ जिल्लामा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पत्रपत्रिकाको संख्या निकै देखिएपनि निरन्तर प्रकाशित हुने पत्रिका सीमित रहेका छन् । धादिङबाट २ वटा दैनिक र अन्य साप्ताहिक पत्रिका प्रकाशन भईरहेको छन् । 
धादिङ जिल्लामा हालसम्म दर्ता भएका पत्रपत्रिका
    
खनालले सुरुवात गरेको पत्रिका प्रकाशन गर्ने कार्यले धादिङमा निरन्तरता पाउन निकै वर्ष लागेको थियो । श्रुति साप्ताहिक पत्रिका प्रकाशन हुन छाडेपछि सन्ध्या मासिक साहित्यिक पत्रिका २०५४ सालमा ४ अंक प्रकाशित भएर रोकिएको थियो । २०५६ चैतबाट धादिङ आवाज साप्ताहिक प्रकाशन हुन थालेको थियो । धादिङ आवाज प्रकाशन शुरु भएको एकवर्ष पछि धादिङबाट गणेश हिमाल साप्ताहिक प्रकाशन भएको थियो । गणेश हिमाल साप्ताहिकको प्रकाशकमा सीताराम वर्मा, सम्पादकमा वासुदेव तिमिल्सिना र कार्यकारी सम्पादकमा राजेन्द्रप्रताप शाह रहनु भएको थियो । गणेश हिमाल २०५९ सालबाट बन्द हुन पुगेको थियो । धादिङ आवाज पनि २०५९ सालदेखि प्रकाशन हुन छाडेकोमा २०६३ सालबाट पुनः प्रकाशन भएकोमा २०७० साल देखि साप्ताहिकलाई दैनिक बनाएर प्रकाशन गर्न थालिएको हो ।

जिल्लाबाट पत्रिका निस्कन नसकेपनि २०४३ सालमा सरकारी सेवाको नायब सुव्वाबाट अवकाश पाएपछि धादिङका मोहनकुमार श्रेष्ठले राष्ट्रिय समाचार समितिको धादिङ समाचारदाताको रूपमा नियुक्ति लिएर पत्रकारिता गर्नुभएको थियो । जिल्लाबाट सरकारी सञ्चारमाध्यममा समाचारदातामा औपचारिक नियुक्ति पाउने श्रेष्ठ नै पहिलो व्यक्ति हुन् । २०४६ सालको परिवर्तनसँगै श्रेष्ठले रा.स.स.को समाचारदाता छाड्नु भएको थियो । श्रेष्ठले छाडेपछि भीमप्रसाद ढुंगाना, शम्भुसिंह ठकुरी, विजय भण्डारी लगायत रा.स.स.मा जोडिएपनि उहाँहरू कोही पनि अहिले पत्रकारितामा हुनुहुन्न । २०५० सालदेखि सीताराम वर्मा रा.स.स.को समाचारदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको ७९ बर्षको उमेरमा २०७६ कात्तिक २१ गते काठमाण्डौंमा निधन भएको थियो । बर्माकै अगुवाइमा २०५३ सालमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको गठन भएको थियो । बर्माले यस बिचमा कान्तिपुर, स्पेसटाईम, गोरखापत्र दैनिकका साथै च्यानल नेपाल टेलिभिजन, घटना र बिचार साप्ताहिक, राष्ट्रिय समाचार समिति लगायतमा पनि जिल्ला समाचारदाताका रूपमा काम गर्नु भएको थियो ।

राजनैतिक क्षेत्रमा छुट्टै परिचय बनाउन सफल हुनुभएका मोहनकुमार श्रेष्ठ, बासुदेव तिमिल्सिना, उत्तम कँडेल, भीमप्रसाद ढुंगाना पनि कुनै बेला धादिङको पत्रकारितामा जोडिनुभएको थियो । तिमिल्सिनाले २०५४ सालमा गोरखापत्रको समाचारदाता भएर केही महिना काम गर्नुभएको थियो । श्रेष्ठ २०४३ देखि २०४६ चैत सम्म रा.स.स.को जिल्ला समाचारदाता कँडेल २०४९ सालमा राजधानीबाट प्रकाशित हुने जनपक्षीय साप्ताहिक पत्रिका दृष्टि÷प्रकाश÷छलफल लगायत पत्रिकाहरूको समाचारदाता हुँदै २०५२ सालमा श्री सगरमाथा दैनिकको धादिङ जिल्ला समाचारदातामा रूपमा काम गर्नुभएको थियो । श्री सगरमाथा दैनिक प्रकाशन बन्द भएपछि कँडेलले पनि पेशा परिवर्तन गर्दै २०५४ सालमा जिल्ला विकास समिति धादिङको उपसभापति हुुँदै २०५८ सालबाट तत्कालीन माओवादी पार्टीको भूमिगत राजनीतिमा प्रवेश गरी राजनैतिक जिम्मेवारी बहन गर्नुभएको थियो । अहिले कँडेल राजनैतिक क्षेत्रबाट अलग भई वातावरण तथा प्रकृति संरक्षणका क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

नियमित पत्रपत्रिका निस्कन नसकेपनि जिल्लाका विभिन्न संघ, संस्था, पेशागत सङ्गठन, बिद्यालय, साहित्यिक संस्थाहरूले मासिक, द्वैमासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा मुखपत्रहरू प्रकाशन गरेर समाजमा सूचना प्रवाह गर्ने गरेको पाइन्छ । स्तम्भकारले प्राप्त गरेको जानकारी अनुसार पश्चिम १ नम्बर स्व.वि.यु.ले २०३९ सालमा धादिङ जिल्लालाई आधार मानेर लालसूर्य, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले जागरण, नेपाल रेडक्रस सोसाइटी मैदी सहयोग समितिले चौतारी, भैरवी माविबाट भैरवी, सालवास माविबाट मखमली मुखपत्र प्रकाशित भएको पाइन्छ ।  
त्यसै गरी गोधूली साहित्य समाज बेनिघाट बाट गोधूली मासिक, मानवअधिकार शिक्षा क्लव बैरेनीबाट चेतनाप्रवाह, मानवअधिकार क्लव जिल्ला समितिबाट जनअभियान, धादिङ साहित्य समाजबाट बिसौनी, कर्मचारी मिलन केन्द्रबाट आँखुको सुसेली, त्रिवेणी साहित्य सङ्गमबाट स्पन्दन लगायतका मुखपत्रले पत्रकारिताको मुलधारलाई समेट्न नसकेपनि विधागत रूपमा भने प्रकाशित भएको पाइन्छ । 

पत्रकार महिलाको सहभागिता 
धादिङको पत्रकारिता इतिहास खोज्दै जाँदा पत्रकारितामा महिला सहभागिता शुरु भएको धेरै समय भएको छैन । २०५७ सालबाट पत्रकारितामा धादिङबाट महिला सहभागिता सुरु भएको पाइन्छ । स्थानीय संचार माध्यमको उपस्थिति खासै नभएको बेला राजधानीबाट प्रकाशित हुने हिमालय टाईम्स दैनिकको जिल्ला समाचारदाता भएर २०५७ सालमा भवानी तिमिल्सिनाले काम गर्नुभएको थियो । दुई बर्षसम्म हिमालय टाईम्सको समाचारदाताका रूपमा काम गर्नुभएपछि उहाँले मुख्य पेशाका रूपमा शिक्षण पेशालाई प्राथमिकता दिएको पाइन्छ ।

यहि अवधिमा विमला श्रेष्ठले साप्ताहिक विर्मशको समाचारदाताको रूपमा केही समय काम गरेको देखिएपनि निरन्तरता भने दिईएको पाईएन । पुरुष पत्रकारहरूको उपस्थिति बढ्दै गएको बेला २०६२ सालमा राजधानी दैनिकको समाचारदाता भएर सीता अधिकारीले महिला पनि पत्रकार हुन सक्छन् भन्ने प्रमाणित गर्नुभएको थियो । राजधानी दैनिकबाट शुरु गरेको पत्रकारितालाई अधिकारीले पछिल्लो अवधिमा सगरमाथा टेलिभिजनमा पनि जोड्नु भएको थियो । सगरमाथा टेलिभिजनको जिल्ला समाचारदाता भएर ४ बर्ष अधिकारीले काम गर्नु भएको थियो । अधिकारीपछि मुलधारको मिडियामा काम गर्ने धादिङको पत्रकार महिलामा एशोदा नेपालको नाम आउँछ । नेपालले २०६४ सालमा रा.स.स.मा एक वर्ष र राजधानी दैनिकमा चार वर्ष जिल्ला समाचारदाताका रूपमा काम गर्नु भएको थियो । नेपाल जिल्लाबाट प्रकाशित हुने नेत्रावती साप्ताहिक र धादिङ न्यूज डट कम अनलाइनको संस्थापक सम्पादक समेत हुनुहुन्छ ।

सीता अधिकारी धादिङबाट वैवाहिक सम्वन्ध जोडेर बाराको सिमरा गएपछि त्यहाँकै स्थानीय एफ.एम. र सयपत्री अनलाइनमा रहेर पत्रकारितामा सक्रिय रहिरहनु भएको छ । पछिल्ला वर्षहरुमा जिल्लाका विभिन्न संचारमाध्यममा महिला पत्रकारको सहभागिता बढ्दै गएको भए पनि निरन्तरता भने भएको पाइदैन । अहिले जिल्लामा रहेका पत्रिका, एफ.एम., अनलाइन र राष्ट्रिय स्तरका पत्रपत्रिका र अन्य मिडियामा काम गर्ने पत्रकार महिलाको संख्या बढ्दै गएको छ । 
एफ.एम. रेडियोको स्थापना 
लोकतन्त्रको स्थापना भएको दुई बर्षपछि मात्रै धादिङ जिल्लामा एप.एम. रेडियो खुल्न थालेको हो । जिल्लाको पहिलो सामुदायिक एफ.एम.का रूपमा रेडियो धादिङ १०६ मेगाहर्ज २०६४ भदौबाट प्रशारणमा आएको हो । ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडले प्रशारण सुरु गरेको रेडियो धादिङनै जिल्लाको पहिलो एफ.एम. हो । धादिङमा अहिले सम्म रेडियो त्रिशूली, रेडियो लोकतन्त्र, कृषि रेडियो, रेडियो विहानी, रेडियो राजमार्ग, रेडियो झिलिमिली, कृषि एफ.एम., नीलकण्ठ एफ.एम., रेडियो मान्खु, रेडियो बस्ती दर्ता भएपनि रेडियो धादिङ, रेडियो बिहानी, कृषि एफ.एम., रेडियो राजमार्ग र नीलकण्ठ एफ.एम. मात्रै नियमित प्रशारणमा आइरहेका छन् । 

डिजिटल पत्रकारिताको सुरुवात 
नेपाली पत्रकारितामा विकेन्द्रीकरणको मान्यता लिएर समुदायमा आधारित स्थानीय सञ्चार माध्यमको उपस्थिति र यसको लोकप्रियता निकै प्रभावकारी बन्न पुगेको छ । स्थानीय स्तरमा समेत छापा तथा विद्युतीय सञ्चार माध्यमको विकास क्रममा ५० को दशकमा छापा पत्रकारिता, ६० को दशकमा एफ.एम. रेडियो र टेलिभिजन अनि ७० को दशकमा अनलाइन मिडियाको उपस्थिति सक्रिय रूपले अगाडि बढेको देखिन्छ । यही सन्दर्भमा धादिङमा छापा माध्यमको अतिरिक्त डिजिटल मिडियामा पनि आकर्षण बढ्दै गएको छ ।

छोटो समयमै संसारभर सूचना समाचार फैलाउन सकिने माध्यम डिजिटल पत्रिका (अनलाइन) तर्फ अहिले धेरैको आकर्षण बढ्दै गएको छ । वेबसाइटमा समाचार अपलोड हुनासाथ संसारभरका कुनाकन्दरासम्म एकसाथ सूचना पाउन र कम खर्चमै सञ्चालन गर्न सकिने भएकाले पछिल्लो समयमा अधिकांशको ध्यान यसतर्फ तानिएको हो । धादिङ जिल्लाको पहिलो डिजिटल पत्रिका धादिङ न्यूज डट कम हो । २०७० साल जेठ २ गतेदेखि यो अनलाइन सञ्चालनमा आएको हो ।

धादिङ जिल्लामा स्थायी ठेगाना राखी २०७७ फागुन ९ गते सम्ममा सूचना तथा प्रशारण विभागमा १८ वटा र वागमती प्रदेश सरकारको सञ्चार रजिष्ट्रारको कार्यालयमा धादिङको १ मात्र अनलाइन दर्ता भएको छ । दर्ता नभई सञ्चालनमा रहेका अनलाइन र ब्लगको संख्या भने ३० भन्दा बढी रहेको छ । 
धादिङ जिल्लामा कार्यालय रहने गरी दर्ता भएका अनलाइन

 


धादिङ जिल्लामा अहिले क्रियाशिल पत्रकारहरू

टेलिभजन प्रसारणको प्रयास 
धादिङ जिल्लामा छापामाध्यम, एफ.एम. र अनलाइन पत्रकारितासँगै टेलिभिजन पनि सञ्चालनमा आएको छ । २०७० सालदेखि जिल्ला सदरमुकाम धादिङ बेसीबाट धादिङ दिव्यदर्शन टेलिभिजन सञ्चालनमा रहेको छ । डिडिटिभीको नामले चिनिने यो टेलिभिजन प्रारम्भका बेला स्थानीय भैरवी केबल नेटवर्कका ग्राहकहरूले मात्रै हेर्न सक्ने रहेकोमा अहिले क्लियर टिभीको डिभाइस मार्फत देशैभरि हेर्न सकिन्छ । धादिङ जिल्लाको पहिलो टेलिभिजनको रूपमा धादिङ जिल्लाबाट प्रसारणमा आएको सो टिभीको सञ्चालन तथा व्यबस्थापन त्रिपुरा मिडिया प्रालिले गरिरहेको छ । 
जिल्लामा रहेर राजधानीका विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूले ४० को दशकमा समाचार लेखेर हुलाक मार्फत खामवन्दी गरेर पठाउने गरेको बताउँछन् । यसरी पठाएको समाचार दुई हप्तासम्म पत्रपत्रिकामा छापिदा ताजा र नौलो हुने गरेको जिल्लाका पुराना पत्रकार राजेन्द्रप्रताप शाह बताउनुहुन्थ्यो । शाहका अनुसार ५० को दशकमा जिल्ला सदरमुकाममा फ्याक्स प्रवेश गरेकाले कुनै पनि समाचार लेखेर फ्याक्स मार्फत पठाउन थालियो भने ६० को दशकपछि इन्टरनेटको प्रवेशले पत्रकारहरूको लागि निकै सहज बनाएको छ । अहिले क्ुनै पनि घटना भएको आधाघण्टा भित्र संसारभरका मानिसले थाहा पाइसक्ने प्रविधिको विकास भएको छ ।

पत्रकारिताको जगमा अहिले राम्रो संरचना तयार हुने क्रम रहेको छ । राष्ट्रिय स्तरका संचारगृह, टेलिभिजन, पत्रिका, एफ.एम., अनलाइनले जिल्लामा समाचारदाता राखेर जिल्लाको समाचारलाई प्राथमिकता दिइराखेका छन् । जिल्लाभित्रै पनि थुप्रै संचारगृह सञ्चालनमा रहिरहेका छन् । राजधानीबाट प्रकाशित, प्रसारित संचार माध्यमले जिल्लामा समाचारदाता राख्न थालेपछि जिल्लाका हरेक सवालले समाचारको मान्यता पाउन थालेको हो । अहिले जिल्लामा सीताराम अधिकारी २०५५ देखि नेपाल समाचारपत्र, २०६० देखि हालसम्म रासस, केशव अधिकारी २०५९ देखि दि हिमालयन टाइम्स अङ्ग्रेजी दैनिक, २०५९ देखि शिव सिलवाल नेपाल टेलिभिजन, २०६१ देखि नवराज छत्कुली रेडियो नेपाल र इमेज टेलिभिजनमा कार्यरत छन् ।

धादिङको पत्रकारिताको कुरा गर्दा अहिले पेशामा सक्रिय नरहेका तर पत्रकारिता जगतले सम्झनै पर्ने पात्रहरू फणिन्द्रराज सिलवाल (नेपाल वान टेलिभिजन) कृष्णभिर भिडन्तको प्रत्यक्ष प्रशारणबाट देश विदेशमा चिनिएका पात्र हुन् । त्यसैगरी हाल अमेरिका बस्नुहुने मैदीका नातीबाबु भट्ट, जिवनपुरका नारायणचन्द्र सुवेदी, ज्यामरुङका उत्तम धमला, नलाङका बुद्धिमान वाईबा, कल्लेरीका शिवहरी खतिवडा, क्यानडा बस्ने धुँवाकोटका गोकर्ण लामिछाने, जापानमा रहनु हुने धादिङबेसीका श्याम शितल, बेल्जियम बस्नुहुने सेमजोङका महिन्दो वाईबा, इजरायल बस्ने कृष्णपक्ष थापा, पोर्चुगलमा रहनुहुने गोविन्द बुढाथोकी, सानुवाबु तिमिल्सिना लगायतका व्यक्तिहरूले धादिङको पत्रकारितामा विभिन्न पक्षबाट योगदान पु¥याएको कुरालाई बिर्सनुहुँदैन । लामिछानेले क्यानडाबाटै क्यानडाखबर डटकम अनलाइन सञ्चालन गरिरहनु भएको  छ ।

राजधानीको छेवैमा रहेको भएपनि धादिङ जिल्लाको पत्रकारिता  कमजोर अबस्थामा छ । जिल्लाको समग्र विकासका लागि पत्रकारिताको विकास पनि आवश्यक छ । जिल्लाका समाचार जिल्लाकै सञ्चार माध्यम भन्ने तथ्यलाई ससक्त ढङ्गबाट कार्यान्वयन गराउन सरोकारवालाहरूको ध्यान पुग्नु जरुरी छ । 
पत्रकारिता सुदृढ र व्यावसायिक नहुँदा जिल्लाका विकास र जनसरोकारका महत्वपूर्ण सवाल र मुद्दा पनि कमजोर बन्न सक्छन् । समाचारलाई रोचक, आकर्षक, पठनीय, दर्शनीय र श्रवणीय रूपमा सम्प्रेषण गर्नु पत्रकारको प्रमुख काम र दायित्व पनि हो । तर जिल्लाका अधिकांश पत्रकारलाई यही दायित्व भार हुने गरेको छ । जिल्ला सदरमुकाम र राजमार्ग क्षेत्रका बजारहरूमा सञ्चार माध्यमले उपस्थिति जनाएका छन् । आवाजविहीनको आवाज भनिने जिल्लाका सञ्चार माध्यममा अझै पनि पहुँचवालाहरूको आवाजले धेरै स्थान पाउने गरेको जनगुनासो कायमै छ ।

प्रविधिको विकासले पत्रकारहरूलाई सजिलो बनाएको छ भने पत्रकारितालाई फराकिलो बनाउन सहयोग पुगेको छ । पछिल्लो समय धादिङमा पनि कोठे र कपी राइट पत्रकारिता फस्टाएको आरोप छ । समाचार र लेख स्रोत समेत नखुलाई साभार गरिनु पत्रकार र पत्रकारिताका लागि घातक छ । पत्रकारिताको बढ्दो विकाससँगै चुनौती पनि थपिंदै गएका छन् । जिल्लामा पत्रपत्रिका, अनलाइन एफएम, टेलिभिजन खुल्ने क्रम जारी छ ।  मिडिया हाउस बढेसँगै समस्या र चुनौती पनि बढेका छन् ।

पत्रकारिताभित्र विषयवस्तुको उठान, त्यसको लेखन, भाषा र प्रस्तुतिसँग भन्दा सम्बन्ध, आचरण र व्यवहार लगायतका कारणले पनि पत्रकारमाथि प्रश्नचिन्ह उठ्ने गरेका छन् । राजनीतिक संलग्नता र पक्षधरताको विसङ्गतिले पत्रकार र पत्रकारितालाई विवादित पार्ने गरेको छ ।सञ्चार क्षेत्र उद्योगतर्फ उन्मुख हुनु सकारात्मक भएपनि पत्रकारहरू आधारभूत सिद्धान्त, मूल्य, मान्यता र ज्ञान सीप विना अघि बढ्न खोज्नु स्वयंका लागि चुनौती हो । 
धादिङको पत्रकारिताको विगत खोज्दा कुनै समय यस्तो थियो जतिबेला समाचार तयार पारेर पत्रकारहरू जिल्ला विकास समितिको कार्यालयमा पुग्दथे । सेतो कागजमा समाचार लेखेर त्यो कागज जतनका साथ लिएर जिल्ला विकास समिति पुग्नुको एउटै कारण भनेको कार्यालयमा रहेको एक मात्र फ्याक्स मेसिन थियो । नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सचिव समेत रहनु भएका पत्रकार राजेन्द्रप्रताप शाह २०४९ सालको स्थानीय निर्वाचनबाट जिल्ला विकास समितिको सदस्यमा निर्वाचित हुनुभएको थियो । साविकको मैदी, नलाङ, सलाङ र कुम्पुर गाविस समेटिएको इलाका नम्बर ९ बाट शाह जि.वि.स. सदस्यमा निर्वाचित हुनु भएको थियो । पत्रकारिता पृष्ठभूमि भएका सदस्य शाहकै जोडबलमा जिल्ला विकास समितिले २०५० सालमा फ्याक्स मेसिन खरिद गरेको थियो ।

फ्याक्स मेसिनबाट चिठ्ठी पत्र समाचार लेखेर अर्को ठाउँमा पठाउन सकिन्छ भन्ने कुरा जनप्रतिनिधि र कर्मचारीलाई बुझाउन धेरै समय लागेको शाह बताउनुहुन्थ्यो । त्यति बेला जिल्लामा पत्रकारको संख्या धेरै थिएन । औलामा गन्न सकिने संख्यामा रहेका पत्रकारहरू भएपनि जि.वि.स.मा रहेको फ्याक्सबाट समचार पठाउन सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारले मात्रै सुविधा पाउने गर्दथे । सरकारी सञ्चार माध्यममा पठाउने समाचार भएपनि सेन्सरकै कारण दिनहुँ जसो एउटै प्रकृतिका समाचार सम्प्रेषण गर्नुपर्ने वाध्यता हुनेगर्दथ्यो । पत्रकारसँग समाचार सम्प्रेषण गर्ने जिल्ला विकास समितिको फ्याक्स भन्दा अरू कुनै विकल्प थिएन । जिविसका सरकारी अधिकृतले समाचार सेन्सर गर्ने गर्दथे किनकि तात्कालीन प्रशासनको आदेश त्यही हुने गर्दथ्यो ।

सदरमुकाममा तत्कालीन दूर सञ्चार कार्यालयले टेलिफोन लाइन बिस्तारसँगै कार्यालयमा फ्याक्स जडान गरेसँगै समाचार सम्प्रेषण गर्ने कार्यमा सहजता आएको पुराना पत्रकारहरूको अनुभव छ । लोकतन्त्रको बहाली हुनुभन्दा अघिसम्म धादिङ जिल्लाको पत्रकारिता देशका अन्य भूभागको तुलनामा बामे सर्ने अवस्थामा रहेको थियो । जिल्लामा पत्रकारहरूको साझा सङ्गठन नेपाल पत्रकार महासंघको शाखा २०५५ सालमा स्थापना भएपनि त्यस भित्र सबै बिचार समूहका पत्रकार समेटिन सकेका थिएनन् ।

लोकतन्त्र बहाली पछि जिल्लामा स्थानीय एफ.एम.हरू खुल्न थालेका हुन् । यस अघि चितवन र काठमाडौंबाट पसारित हुने एफ.एम.हरू जिल्लाका सूचना प्राप्त गर्ने आम सञ्चारका माध्यम बनेका थिए । दोस्रो जनआन्दोलन अर्थात् लोकतन्त्र स्थापना पश्चात जिल्लामा पत्रकारहरूको संख्या ह्वात्तै बढेर गयो तर यो अवस्था त्यति लामो समय टिक्न सकेन । एक समयमा पत्रकारिता प्रति देखिएको क्रेज बिस्तारै सेलाउदै गयो ।

जिल्लामा रहेका सञ्चार माध्यमहरूमा आउने विज्ञापनको दायरा एकै किसिमको हुनु तर सञ्चार माध्यमहरू विभिन्न उद्देश्य अनुरूप खोलिने प्रवृत्तिका कारण पनि यो पेशाको शुद्धता प्रति औला उठ्न थालेको पाइन्छ । व्यावसायिक खोजमूलक पत्रकारिता भन्दा मिसन तथा चाकरी पत्रकारिताले प्रश्रय पाउँदा धेरै सञ्चार माध्यमहरू दिगो रूपमा टिक्न ंसङ्घर्ष गरिरहेका छन् । व्यावसायिक प्रतिस्पर्धा भन्दा स्वार्थ र प्रलोभनका कारण विज्ञापन बजार खस्कदै जाँदा सञ्चार माध्यमहरूलाई टिक्न मुस्किल पर्दै गएको छ ।

समाजका घटनाक्रमलाई जनता माझ जस्ताको तस्तै पस्कनु सञ्चारमाध्यको प्रमुख दायित्व हो । सरकारी तथा अन्य सार्वजनिक सरोकारका निकायहरूबाट प्रवाह हुने सेवा सुविधाहरू नियमसंगत छ कि छैन भन्ने विषयमा पत्रकारिता केन्द्रित हुनुपर्ने भएपनि विज्ञापन, राजनैतिक स्वार्थ र प्रलोभनमा पत्रकार अलमलिदा मिडियाप्रति आम सर्वसाधारणको बुझाइ नकारात्मक बन्दै गइरहेको छ । सञ्चार माध्यम र पत्रकारहरूलाई प्रत्यक्ष रूपमा राजनैतिक आक्षेप लाग्नु भनेको जनताको विश्वास घट्दै जानु हो । कसैको प्रलोभनमा होइन, सत्य, तथ्य र निष्पक्ष समाचार पस्कनु नै पत्रकारको कर्तव्य र धर्म हो । त्यसैले जिल्लाको पत्रकारिता क्षेत्रलाई बलियो रूपमा अघि बढाउन पत्रकारहरूको शुद्धीकरण, पत्रकारहरूलाई खोजमूलक सामग्री सङ्कलनमा सीप विकास गराउनु जरुरी छ । 

वि.सं २०४७ सालभन्दा अघिसम्म धादिङ मात्र होइन, नेपालका सबै जिल्लाहरूमा पत्रकार भनेका राष्ट्रिय समाचार समिति (रा.स.स.) का जिल्ला समाचारदाता र दैनिक पत्रिका भनेको गोरखापत्र हो भन्ने मान्यता बनेको थियो । २०४७ सालमा कान्तिपुर दैनिकको प्रकाशन आरम्भ भएपछि जिल्ला जिल्लामा कान्तिपुरले समाचारदाता राखेर पत्रकार थप्ने काम गरेको थियो । धादिङ जिल्लाको हकमा कुरा गर्ने हो भने सदरमुकाम धादिङबेसीमा स्थित जिल्ला वन कार्यालयको लेखा अधिकृतबाट सेवा निवृत्त हुनुभएका सीताराम वर्माले रा.स.स. र कान्तिपुर दुवैको जिल्ला समाचारदाताको जिम्मेवारी पाएका थिए । एक दशकपछि वर्माले कान्तिपुर छाडेपनि मृत्युपर्यन्त रा.स.स.लाई निरन्तरता दिइरहनु भएको थियो । बर्मा पछि राजेन्द्रप्रताप शाहले पनि लामो समय काम गर्नु भएको थियो । जिल्लामा अखबारी पत्रकारिताको विकास गर्न शाहले निकै महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।   
त्यतिबेला समाचारको भाषा शैलीको खासै अर्थ थिएन । थियो केबल सूचना उपलब्ध गराउनु मात्रै हुन्थ्यो जतिबेला सीताराम वर्मा रा.स.स.मा जोडिनुभएको थियो  । उहाँले पठाएको जिल्लाका समाचार रा.स.स.को बुलेटिन, गोरखापत्र दैनिक तथा रेडियो नेपालबाट प्रकाशन र प्रसारण हुने गर्थे ।

२०४६ सालको राजनीतिक परिवर्तन पछि सरकारी सञ्चार माध्यम रा.स.स.का अलावा रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजनमा सत्ताधारी दलले आफ्ना कार्यकर्ता भर्ती गर्ने क्रम चलिनैरह्यो । विगतलाई फर्केर हेर्दा यसअघि वि.सं. २०३८ सालमा धादिङ जिल्लामा भैरवी छापाखानाको नाममा लेटर प्रेस भित्रिए सँगै साप्ताहिक रूपमा केही समय श्रु्ति साप्ताहिक पत्रिका पत्रिकाको प्रकाशन भएको थियो । यो नै धादिङको पहिलो प्रकाशन थियो  । तत्कालीन पञ्चायती  व्यवस्थाले पत्रिकामा प्रकाशित बिभिन्न समाचारको विषयलाई लिएर पटक पटक अबरोध खडा गर्न थालेपछि पत्रिका प्रकाशनको त्यो प्रयास लामो समयसम्म टिक्न सकेन । अन्ततः पत्रिकाको प्रकाशन बन्द नै हुन पुग्यो । छापाखानाका सञ्चालक माधव खनालले प्रेसलाई पछि नुवाकोट सार्नुभयो । भैरवी पछि २०५५ सालमा धादिङ जिल्लामा सरस्वती छापाखाना (अफसेट प्रेस) स्थापना हुन पुग्यो । सरस्वती छापाखानाको स्थापना पछि धादिङ जिल्लामा साप्ताहिक, साहित्यिक तथा अन्य पत्रपत्रिका प्रकाशनको सुरुवात हुन थालेको हो ।

निष्कर्ष 
लोकतन्त्रको स्थापनापछि धादिङ जिल्लामा छापा र विद्युत्तीय पत्रकारिताको पर्याप्त विकास भयो । यस क्रममा दैनिक, साप्ताहिक, पाक्षिक र मासिक रूपमा धेरै पत्रपत्रिकाहरू प्रकाशनमा आउने र बन्द हुने क्रम निरन्तर चलिरह्यो ।धादिङमा व्यावसायिक रूपमा धादिङ आवाज साप्ताहिकले पत्रकारिताको अभ्यास सुरु गरेको थियो । यो साप्ताहिक आउनुभन्दा पहिला पनि धादिङमा अन्य पत्रपत्रिका छिटपुट रूपमा प्रकाशनको कोसिस गरिएपनि ती पत्रपत्रिका धेरै समय टिक्न सकेनन् । धादिङ आवाज साप्ताहिकको प्रकाशक नेत्रराज पौडेल रहनु भएको थियो भने सम्पादक रमेश अधिकारी हुनुहुन्थ्यो । सो पत्रिकाको सम्पादक टिममा राजकुमार थापा, सीताराम अधिकारी र व्यवस्थापक बेदबहादुर खाँड रहनु भएको थियो । ‘स्वतन्त्र र निष्पक्ष’ पत्रकारिता भन्ने उद्घोषका साथ सुरुवात भएको धादिङ आवाजले त्यति बेला जिल्लाको समग्र पत्रकारिताको नेतृत्व गरेको थियो । उक्त पत्रिका हरेक आइतवार प्रकाशित हुने गरेको थियो । 
‘धादिङ आवाज’ प्रकाशन भएको एक बर्षपछि सीताराम वर्मा प्रकाशक रहेर बासुदेव तिमिल्सिना सम्पादक, राजेन्द्रप्रताप शाह कार्यकारी सम्पादक, भीम क्षेत्री व्यवस्थापक रहेको ‘गणेश हिमाल साप्ताहिक’ प्रकाशन आरम्भ हुन पुग्यो । जिल्लाबाट एकै साथ दुईवटा साप्ताहिक प्रकाशनमा आए पनि विभिन्न कारणले दुवै साप्ताहिक बन्द हुन पुगे । धादिङ आवाज लोकतन्त्र पुनस्र्थापना पश्चात् पुनः प्रकाशन भइरहेको छ । जिल्लाको पत्रकारिताको विकासमा पत्रपत्रिका, एफ.एम. रेडियो र अनलाइन मिडियाले योगदान दिएका छन् । पत्रकारिता समाजको पहेरदारकै रूपमा अभियन्ता बन्न पुगेको देखिन्छ । 
यसरी हेर्दा धादिङको पत्रकारिता निरन्तर गतिशील नै रहेको देखिन्छ । पत्रकारिताको सुरुवातदेखि विभिन्न कठिनाइसँग जुध्दै धादिङका मिडिया पाठक, दर्शक तथा श्रोतासमक्ष पुगिरहेका छन् । तसर्थ पत्रकारिता आधुनिक कालमा पनि उत्तरोत्तर प्रगतिशील नै छ । नयाँ नयाँ प्रविधिको विकाससँगै धादिङको पत्रकारिता निरन्तर गतिशील छ ।

 

लेखक धादिङ जिल्लामा रहेर २०५७ साल देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । यो लेख नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको बार्षिकांक प्रज्ञा प्रवाह २०८० मा प्रकाशित छ ।

Related Blogs