FNJ Logo

नेपाल पत्रकार महासंघ, धादिङ

Federation Of Nepal Journalists, Dhading

प्रेस काउन्सिल नेपालको निर्वाचन आचारसंहिता तथा मिडिया जागरण अभियान धादिङबाट सुरु

FNJ Dhading

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता तथा मिडिया जागरण अभियान धादिङबाट सुरु गरेको छ। निर्वाचनका क्रममा राजनीतिक दल र सञ्चारमाध्यमबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटनालाई न्यूनिकरण गर्दै आचारसंहिता पालनालाई प्रभावकारी बनाउने उद्देश्यले अभियान थालिएको हो।

प्रेस काउन्सिल नेपालको आयोजनामा नेपाल पत्रकार महासंघ धादिङ शाखाको संयोजनमा आयोजित निर्वाचन आचारसंहिता र मिडियासम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले निर्वाचनका समयमा पत्रकार तथा सञ्चारमाध्यमले विशेष जिम्मेवारी वहन गर्नुपर्ने बताए।

अनलाइन, रेडियो, टेलिभिजन र मुद्रित माध्यमले निष्पक्ष, सन्तुलित र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्दै जिम्मेवार मिडियाले लोकतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले विगतका निर्वाचनमा पत्रकार तथा सञ्चारमाध्यमले आचारसंहिता पालना गर्दै भूमिका निर्वाह गरेको स्मरण गराउँदै आसन्न निर्वाचनमा पनि स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरण निर्माणका लागि जिम्मेवार पत्रकारिता गर्न सबैमा आग्रह गरिन्। पत्रकार आचारसंहितासँगै निर्वाचन आचारसंहिता पनि पालना गर्न र गराउन महासंघ प्रतिबद्ध रहेको उनले बताइन्।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी तथा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरूले निर्वाचन अवधिमा सञ्चारमाध्यम र सञ्चारकर्मीले ध्यान दिनुपर्ने विषय, विगतका अनुभव र सम्भावित जोखिमबारे धारणा राखेका थिए।

सहभागीहरूले विगतका निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै यस पटकको निर्वाचन पनि शान्तिपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

यसै अवसरमा नेपाल पत्रकार महासंघले जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ तथा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी राष्ट्रिय अभियान पनि धादिङबाटै सुरुवात गरेको जनाएको छ। यसअघि प्रेस काउन्सिल नेपालको बोर्ड बैठक धादिङकै सल्यानटारमा सम्पन्न भएको थियो।