Federation Of Nepal Journalists, Dhading
धादिङ । नेपाल पत्रकार महासङ्घ धादिङको आयोजनामा 'विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (AI) को प्रयोग' सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ।
बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाको वडा नम्बर–८ स्थित चैलिङ गाउँ तथा चैलिङ होम स्टे परिसरमा मङ्सिर १५ देखि १७ गतेसम्म तालिम सञ्चालन गरिएकाे हाे ।
तालिममा जिल्लास्थित पत्रकारहरूलाई विकास पत्रकारिता, प्रविधिको सही प्रयोग तथा समाचार लेखनमा एआईको भूमिकाबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो।
सुरुका दुई दिन गोरखापत्र दैनिकका उपसम्पादक अजय शर्माले पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, अवसर, चुनौती तथा व्यावहारिक उपयोगका विधिहरूमा प्रशिक्षण प्रदान गरेका थिए।
अन्तिम दिन नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा सार्वजनिक प्रसारण सेवा संस्थाका कार्यकारी प्रमुख डा. महेन्द्र विष्टले विकास पत्रकारिताको मूल सिद्धान्त, उद्देश्य तथा स्थानीय विकासका मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने तरिकाबारे विस्तृत प्रवचन दिएका थिए।
समापन सत्रका सभापतित्व नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिमा बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ रहेका थिए।
विशेष अतिथिमा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष महेन्द्र बिष्ट, तथा अतिथिमा महासङ्घका केन्द्रीय सदस्य रामेश्वर कार्की, बाग्मती प्रदेश सदस्य सन्तोष अधिकारी, र उपसम्पादक अजय शर्माको उपस्थिति रहेको थियो उक्त कार्यक्रमको सन्चालन नेपाल पत्रकार महासंघ धादिङका सचिब सन्तोष राज श्रेष्ठले गर्नु भएको थियो ।
उपाध्यक्ष श्रेष्ठले डिजिटल युगमा प्रविधिसँगै अद्यावधिक हुन पत्रकारिता क्षेत्रका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै एआईको सही प्रयोगले समाचार उत्पादनमा गुणस्तर वृद्धि हुनेमा विश्वास व्यक्त गरे।
नेपाल पत्रकार महासङ्घ धादिङले आयोजना गरेको तालिमले पत्रकारहरूको सीप विकास, अनुसन्धानमूलक समाचार उत्पादन तथा स्थानीय विकासका मुद्दा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ।